काठमाडौं, वैशाख २८ – गएको वैशाख १२ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षको अवधिमा २९ हजार ८ सय ३८ बिरामीको उपचार गरिएको छ ।
दुर्घटनामा परेका घाइतेहरुको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित भएको सेन्टरका कर्मचारी अश्विन बरालले बताउनुभयो । ट्रमामा वैशाख २८ गतेसम्ममा २२ हजार १ सय २१ नयाँ बिरामी छन् भने सात हजार ७ सय १७ पुराना बिरामीले उपचार गराएका छन् ।
दुईसय शैयाको क्षमता भएको सेन्टरमा आकस्मिक सेवाका लागि वैशाख २८ गतेसम्म १६ हजार ८ सय ५१ जना बिरामी आएका छन्, जसमा वीर अस्पतालबाट आएका ९ हजार ६०, पुलिस केस मार्फत आएका तीन हजार ४ सय ५२ र सेन्टरमै आएका ४ हजार २ सय ३९ बिरामी छन् ।
सडक दुर्घटनामा परेर घाइते भएका बिरामीको उपचार गर्न १७ वर्षअघिबाट बन्न सुरु गरेको सेन्टर गएको वैशाखदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो । सेन्टरका सुपरिटेन्डेन्ट प्राडा प्रमोदकुमार उपाध्यायका अनुसार पानीमा डुबेका, आगोले पोलेका, सडक दुर्घटनामा परेका, लडेर चोटपटक लागेका, आकस्मिक मानसिक विक्षिप्तलगायत बिरामी ट्रमा आउने गर्छन् ।
उहाँले भन्नुभयो, ‘सेन्टरमा अहिले शारीरिक रूपमा भएको चोटपटकको मात्र उपचार रहेको छ । मानसिक ट्रमा भएका, डुबेका र विष सेवन गरेका बिरामीको भने अन्य अस्पतालमा जनरल फिजिसियनबाट हुने भएकाले हामीले यहाँ उपचार गरेका छैनौँ ।’ वीर अस्पताल अन्तर्गत नै रहेको यो सेन्टरमा कस्ता बिरामीको उपचार हुन्छ भन्नेबारे अझै पनि धेरैलाई जानकारी नभएकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको सुपरिटेन्डेन्ट उपाध्यायले बताउनुभयो ।
स्वास्थ्यमन्त्री रामजनम चौधरी नेपालमा बढ्दो सडक दुर्घटनालाई ध्यानमा राखी पूर्व–पश्चिम राजमार्गमा पनि ट्रमा सेन्टर खोल्ने तयारी गर्न लागिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नेपालको राजमार्गमा हुने दुर्घटनामा धेरै घाइते हुन्छन् । घाइतेको उपचार गर्न काठमाडौँ अथवा भारतसम्म पुग्नुपर्ने अवस्था छ, टाढासम्म उपचार गर्न कठिन भएकाले विभिन्न स्थानमा ट्रमा सेन्टर खोल्ने विषयमा गृहकार्य गरिरहेका छौँ ।’
नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँचदेखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्याङ्क छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटना हेर्दा सन् २०२० सम्ममा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । अहिले सवारी दुर्घटना नेपालमा हुने मृत्युको चौथो कारण हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक तीनको मृत्यु तथा १२ जना घाइते हुन्छन् ।
भारत सरकारको सहयोगमा वीर अस्पतालसँगै झण्डै २५० करोडको लगानीमा निर्मित नौ तले भवन भूकम्प प्रतिरोधात्मक छ ।
रासस
Facebook Comments