ब्राजिलमा सभामुखले गराएको मतदान कार्यकारी सभामुखले रद्द गरे
radiorajmargaInternational
वैशाख २८ – ब्राजिलको सिनेटका कार्यकारी सभामुखले राष्ट्रपति डिल्मा रुसेफमाथि महाअभियोग लगाउने विषयमा भएको तल्लो सदनमा चुनाव रद्द गरेका छन् । सिनेटका कार्यकारी सभामुख वाल्डिर मारान्हाओले सभामुख रेनान क्यालेरोसले राष्ट्रपति रुसेफमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा गएको अप्रिल १७ गरेको चुनाव रद्द गर्नुभएको हो । सिनेटमा तल्लो सदनको निर्णय अघि बढाउने वा नबढाउने भन्ने विषयमा बुधबार मतदान हुने तय भएको थियो । तर कार्यकारी सभामुखले तल्लो सदनको चुनाव नै रद्द गरेपछि राष्ट्रपति रुसेफमाथि महाअभियोग लगाउने विषय तत्कालका लागि टरेको छ । सदनका सदस्या तथा सभामुख क्यालेरोसले कार्यकारी सभामुखको निर्णय गैरकानूनी भएको बताएका छन् ।
तर कार्यकारी सभामुख मारान्हाओले भने सदनमा केही कमजोरी भएकाले चुनाव रद्द गरिएको बताउनुभयो । उहाँले तल्लो सदनमा फेरि चुनाव गराउनु पर्ने बताउनुभएको छ । तल्लो सदनमा तीन सय ६७ जना सांसदले राष्ट्रपति रुसेफलाई महाअभियोग लगाउनु पर्ने पक्षमा मत दिएका थिए । अब ति सांसदले आफ्नो निर्णय परिवर्तन गर्नेमा भने आशंका छ । राष्ट्रपति रुसेफमाथि सन् २०१४ मा चुनावका बेला सरकारी कोषबाट रकम खर्च गरेको आरोप छ । उहाँ सन् २०१४ मा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुनभएको थियो ।