अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी

radiorajmarga

National

धादिङ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी हुनुभएको हो । खतिवडाले एकसय ४२ तथा थापाले एकसय ३२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बन्नुभएको थियो भने काँग्रेस र माओवादी केन्द्रबाट थापाको प्यानललाई समर्थन थियो । वरिष्ठ उपाध्यक्षमा थापा प्यानलका अर्जुन गिरी पनि १० मतले नै विजयी हुनुभएको छ । उहाँले १४० मत पाउनुभयो भने प्रत्यासी होम पाठकले १ सय ३० मत पाउनुभयो ।
यसैगरी महिला उपाध्यक्षमा एकसय ३९ मत सहित शशिकला दाहाल विजयी हुनुभयो । प्रतिद्वन्दि सविता अर्यालले एकसय २५ मत पाउनुभयो । एकसय ३२ मत ल्याएर निमेश कर्ण मधेसी तर्फबाट उपाध्यक्षमा चयन हुनुभएको छ ।
अर्का प्रत्यासी विनेश्वर गुप्ताले एकसय २७ मत पाउनुभयो । यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी हुनुभएको छ । जनजाती उपाध्यक्षका अर्का उमेद्वार दिपक श्रेष्ठले एकसय २१ मत पाउनुभयो । दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन हुनुभएको छ ।
महासचिवमा विजयी थापा प्यानलका गोविन्द देवकोटाले एकसय ३६ मत पाउनुभयो । उहाँका प्रतिद्धन्दी पिताम्बर सिग्देलले एक सय २८ मत पाएको निर्वाचन समितिले जनाएको छ । यसैगरी कोषाध्यक्षमा एकसय ३५ मत सहित लक्ष्मण खड्का विजयी हुनुभएको छ । कोषाध्यक्षका प्रत्यासी सुदर्शन खतिवडाले एकसय २९ मत पाउनुभएको छ ।
सचिवमा एकसय ४२ मतसहित खतिवडा प्यानलका बन्दना दनुवार विजयी हुनुभएको छ । सचिवका प्रत्यासी तुला अधिकारीले एकसय १९ मत पाउनुभयो । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति पनि चयन गरेको छ ।

अधिवेशनबाट खुला केन्द्रीय सदस्यतर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजंग थापा, धु्रवराज ढकाल, शुक्रराज भण्डारी विजयी हुनुभएको छ । महिला सदस्यमा धनलक्ष्मी शाही र ललिता कुश्मी निर्वाचित हुनुभएको छ ।
मधेसीमा अजयकुमार यादव रामभरोसी महतो विजयी हुनुभएको छ । जनजातितर्फ गणेशकुमार श्रेष्ठ र मिलन गाहा, दलिततर्फ पूर्णबहादुर विश्वकर्मा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै प्रदेश नं १ को अध्यक्षमा बच्चु नारायण श्रेष्ठ, प्रदेश नमा २ अशोक दत्त प्रदेश नं ३ मा कृष्ण हरि घिमिरे प्रदेश नं ४ मा शान्ति गुरुङ, प्रदेश नं ५ मा केपी घिमिरे प्रदेश नं ६ मा रमेश गौतम प्रदेश नं ७ मा दीर्घराज उपाध्याय विजयी हुनुभएको छ ।

२०७३ पौष २३ गते प्रकाशित