एमाले र मधेसी मोर्चा प्रचण्ड सरकारमा सहभागी नहुने

एमाले र मधेसी मोर्चा प्रचण्ड सरकारमा सहभागी नहुने

Cong-mao-morcha-768x448

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता नभएसम्म प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा आफ्नो सहभागिता नहुने प्रष्ट पारेको छ । साथै उसले प्रधानमन्त्री निर्वाचनमा पनि सशर्त मात्र समर्थन गर्ने बताएको छ ।

सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका शीर्ष नेताहरुले शनिबार मधेसी मोर्चासहित संघीय गठवन्धनका नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा भावी प्रधानमन्त्री प्रचण्डले समर्थन र सरकारमा सहभागिताका लागि शर्तहरु के छन् भनेर प्रश्न गरेका थिए । उनले सकेसम्म सरकारमै सहभागी हुन मधेसी मोर्चालाई प्रस्ताव गरे ।

तर, मधेसी मोर्चाले तत्काल सरकारमा नजाने प्रष्ट पारेको छ । मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरदसिंह भण्डारीले आफूहरु सरकारमा आउने कल्पना नगर्न आग्रह गरे ।

बैठकमा मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री चुनावमा समर्थनका लागि पनि आफूहरु शर्त रहेको बताएका छन् । उनीहरुले मधेस आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार खर्च, मुद्धा फिर्ता र न्यायीक छानविन आयोग गठनको निर्णय पहिलो मन्त्रिपरिषद् बैठकबाटै गर्ने लिखित सहमति भएमात्र प्रचण्डलाई भोट हाल्ने बताएका छन् ।
यस्तै नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा एमाले सहभागी नहुने बताउनु भएको छ ।
दोलालघाटमा दुलालेश्वर वातावरणीय समाज सेवा क्लबले सञ्चालन गर्ने एम्बुलेन्स सेवा शुभारम्भ गर्न आउनुभएका पूर्वप्रधानमन्त्री नेपालले प्रचण्डले सहमतीय सरकारमा आउन आग्रह गरेपनि त्यो सम्भावना नरहेको बताउनुभयो ।
उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै सहमतीय रुप दिनुपर्ने तर्क गर्दै कांग्रेसको नयाँ सभापति आएपछि त्यो सम्भव हुन नसकेको आरोप लगाउनुभयो ।
२०७३ साउन १५ गते प्रकाशित

Facebook Comments