केरुङ–काठमाडौं रेलमार्गको प्रगति सुस्त

केरुङ–काठमाडौं रेलमार्गको प्रगति सुस्त

20180428191601_rail-ktm

धादिङ । माघ २३ । केरुङ रसुवागढी काठमाडौं रेलमार्गको काम सुस्ताएको छ । सरकारले उच्च प्राथमिकतामा राखेको रेलमार्गमध्येको सो रेलमार्गको प्रगति सुस्त भएको हो ।सरकारले गत मंसिरमा चिनियाँ टोलीले नेपाल सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाए यता रेलमार्गको थप प्रगति भएको छैन ।
नेपाल र चीनबीच तेस्रो पटकसम्म बैंठक बस्दा पनि भौतिक रूपमा भने ठोस प्रगति भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताअन्तर्गतको रेलमार्ग प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने भनिए पनि सोहीअनुसार केरुङ–काठमाडौं रेलमार्गको प्रगति भने हुन सकिरहेको छैन ।
गत जेठमा चीन सरकारको प्राविधिक टोली केरुङ–काठमाडौं रेल मार्गको सम्भाव्यता अध्ययन गरी फर्किएको थियो । चिनियाँ प्राविधिक टोलीले काठमाडौंदेखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)– केरुङसम्मको अध्ययन सम्भाव्यता पूरा गरेको थियो । सो प्राविधिक टोलीले एक साताको अवधिमा गरेको पूर्व सम्भाव्यता अध्ययनबाट काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको प्रतिवेदन तयार पारेको थियोे ।
यसअघि चिनियाँ रेल प्रशासनको उच्चस्तरीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यताको अध्ययन गरेको थियो । त्यो अध्ययनमा केरुङबाट रसुवागढी–त्रिशूली–काठमाडौंसम्म रेल सञ्चालन सहज हुने बताइएको थियो ।
त्यस्तै, गत असार पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच रेल सञ्चालनबारे छलफल भएको थियो । यसअघि चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले केरुङ–काठमाडौं रेल परियोजना अनुदानमा बनाइदिन आग्रह गरेका थिए । सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि रेल सञ्चालन प्राथमिकता परेको छ । तर, प्राथमिकताअनुसार काममा प्रगति भएको छैन ।
माघ २३, २०७५

Facebook Comments