नौबिसे-सीतापाइला सुरुङ मार्ग : जनताले घन्टौंको जामबाट मुक्ति पाउने

नौबिसे-सीतापाइला सुरुङ मार्ग : जनताले घन्टौंको जामबाट मुक्ति पाउने

sitapaila-naubise-tunnel-1

धादिङ । राजधानीबाट बाहिरिने मुख्य नाकामा निर्माण हुने तयारीमा रहेको नौबिसे सितापाईला सुरुङमार्गबाट जनताले घन्टौंको जामबाट मुक्ति पाउने भएका छन् । अहिले नागढुंगाको जाम छिचोल्न कम्तिमा ३ घण्टा लाग्छ । सरकारी योजनाअनुसार काम भए अब काठमाडौंबाट नौबिसे पुग्न २० मिनेटभन्दा बढी लाग्ने छैन । तर, मोटरसाइकल भने सुरुङमार्गमा चलाउन पाईने छैन ।

यस सुरुङमार्गका बारेमा जापानी सहयोग नियोगले गरेको अध्ययनमा २० मिनेटमै नौबिसेबाट काठमाडौ आइपुग्ने निष्कर्ष निकालिएको हो । नागढुङ्गाबाट करिब ८० मिटर तलबाट जाने यो सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका बारेमा पनि अध्ययन भइसकेको छ ।

सडक विभागको वैदेशिक महाशाखाका प्रमुख सञ्जय कुमार श्रेष्ठका अनुसार यो रिपोर्टमा सुरुङमार्ग निर्माण गर्दा कुनै पनि वातावरणीय क्षति नहुने देखिएको छ ।
अहिले सडक विभागले यो सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने कन्सल्ट्यान्टको छनौट कार्य अघि बढाएको छ । साथै यस्ता कन्सलट्यान्टको सर्ट लिस्टिङसमेत भइसकेको छ ।

कन्सल्ट्यान्ट छनोट पश्चात उसले डिजाइन तयार गर्छ । डिजाइन तयार हुनै लाग्दा सरकारले निर्माण कम्पनी पनि छनोट गरिसक्ने श्रेष्ठले बताए । निर्माण सुरु भएको ३ वर्षभित्रै यो सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

जापानले दुई वर्षअघि नै सुरुङमार्ग निर्माणका लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । तर, गत आइतबार मात्रै मन्त्री परिषदले ऋण स्वीकृत गरेपछि यसको निर्माणको प्रक्रिया अघि बढेको हो ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । श्रेष्ठले दिएको जानकारी अनुसार जापानले नेपाल सरकारलाई ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्ष भित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

श्रेष्ठका अनुसार यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । तर यसको सुरुङ भने २।४५ किलोमिटरको मात्रै हुनेछ । सीतापाइलादेखि नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।

यो सडक खण्ड अन्र्तगतको सुरुङ धादिङको सिस्नेखोला देखी सीतापाइला नजिकैको बस्नेत छाप सम्म निर्माण गरिनेछ । सुरुङमार्गमा दु्ईवटा पुल र २ वटा कल्भर्टको पनि निर्माण हुनेछ ।

१२ मिटर चौडाइको यो सडकमा दुवैतिर १ र १ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान राखिनेछ ।

सुरुङमार्ग २ लेन प्लस वान लेन मापदण्डको हुन्छ । २ लेन प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपट्टिको सडक २ लेन हुँदा अर्कोपट्टिको सडक १ लेनमा परिणत हुन्छ । यस्तो कार्य भने फेरबदल भइरहन्छ ।

अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौ प्रवेश गर्नलाई नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ । जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङ निर्माण भएपछि ट्राफिक जामको समस्या समाधान हुन्छ । त्यसपछि नौबिसेबाट २० मिनेटमै सुरुङमार्ग हुँदै सुरक्षितरुपमा काठमाडौं आइपुगिन्छ ।

कलंकी नौबिसे मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा ट्राफिक जामको समस्यासँगै बेलाबेलामा हुने दुर्घटनामा समेत कमी आउने श्रेष्ठको भनाइ छ ।

सरकारी योजनाअनुसार सुरुङमार्ग हुँदै नौबिसे – काठमाडौ गुड्ने प्रत्येक सवारी साधनले सरकारलाई २५ रुपैयाँ तिर्नुपर्ने छ । यसबाट नै सरकारले यसको निर्माण पश्चात आवश्यक पर्ने मर्मत खर्च जुटाउने योजना बनाएको छ ।

तर, यो सुरुङमार्गमा मोटरसाइकल चलाउन भने प्रतिबन्ध लगाइने छ । सुरङमार्गमा सरकारले नै मोटरसाइकल ओसार पसार गर्ने सवारी साधन राख्ने भएको छ । यसरी मोटरसाइकल ओसार पसार गरेबापत सरकारले २५ रुपैयाँ लिने योजना बनाएको छ ।

२०७३ मंसिर १७ गते प्रकाशित

Facebook Comments