नेपालमा पस्यो मनसुन, मुलुकभर फैलन एक हप्ता लाग्ने

नेपालमा पस्यो मनसुन, मुलुकभर फैलन एक हप्ता लाग्ने

rain barsha

काठमाडौं । औसतभन्दा १० दिन ढिलो गरी नेपालमा बिहीबार मनसुन प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार नेपालमा मनसुन प्रवेश गरेको पुष्टि गरेको हो । मुलुकको पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ ।

नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन पश्चिम नेपालसम्म फैलनका लागि एक साता लाग्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार केही दिनमा नै मुलुकभर मनसुनी वायु फैलनेछ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ ।

यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरु भएको छ । नेपालमा साधारणतयाः १० जुनदेखि २३ सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुनी अवधिको रूपमा लिने गरिन्छ । जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ ।

मनसुनी अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । यसरी सास्कोप–१४ मा आँकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को केही पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । बाँकी प्रदेश गण्डकी, कर्णाली र सुदूरपश्चिममा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ ।

स्मरणीय छ, सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको ९करिब ३० वर्ष० औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशत देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

२०७६ असार ६ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments