लोकसञ्चार मार्गको कार्यन्वयन केन्द्र सरकारले गर्ने

लोकसञ्चार मार्गको कार्यन्वयन केन्द्र सरकारले गर्ने

sadak

धादिङ ।

   नुवाकोटको जिलिङबाट धादिङको धुनिबेशि धार्केमा जोडिने लोकसञ्चार मार्गको निर्माण कार्य केन्द्र सरकारले कार्यन्वयन गर्ने भएको छ।नुवाकोटको जिलिङ्ग सिमखेत ,केउरिनी,कुमरी झ्याङ्लीपोखरी, कोल्पुखोला, धादिङको आचार्य पोखरी हुदै धार्के जोडिने उक्त लोकसन्चार मार्ग सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको हो । वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो सडकलाई केन्द्र मातहत ल्याएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रममा आर्थिक बर्ष २०७३ / ७४ देखि समावेश भएको उक्त सडक आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश थियो ।
उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी डिपिआर भए पनि चालू आव २०७५  /७६ मा भौतिक मन्त्रालयको बजेट शीर्षक नं ३३७–३३५ प्रदेशमा हस्तान्तरण गर्ने निर्णयसँगै प्रदेशमा गएको थियो ।
विगतमा प्रदेशमा गएको दुई लेनमा विस्तार हुने उक्त सडक तत्काल कार्यान्वयन गर्न जनशक्तिलगायत समस्या भएको भन्दै पूर्वाधार विकास कार्यालय नुवाकोटले गत फागुन १३ गते ३ नं प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडामा पत्राचार गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडालाई उक्त सडक सङ्घीय सरकारबाट कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गर्दै उक्त सडक केन्द्र सरकारले कार्यान्वयन गर्नका लागि पत्र पठाएको थियो । भौतिक मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर यही वैशाख ६ गते उक्त सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने गरी निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

उक्त लोकसन्चार मार्ग निर्माण भएमा धादिङको त्रिभुवन राजपथ जोड्न लिङ्क सडकका रुपमा उपयोगि हुनेछ । साथै नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने छ । रसुवागढीबाट हेटौँडा जोड्न वैकल्पिक मार्गका रुपमा हेरिएको उक्त लोकसञ्चार मार्गको काम जिलिङ्बाट सुरु गरिएतापनी प्रदेशमा गएपछि रोकिएको थियो। मन्त्रिपरिषद्को निर्णयले केन्द्रमा फिर्ता भएसँगै लोकसन्चार मार्गको काम अब सञ्चालन हुने सडक डिभिजन कार्यलय नुवाकोटका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो ।

४० किलोमिटर लामो उक्त सडकको निर्माण कार्य पूरा हुन झण्डै रु दुई अर्ब रुपैयाँ लाग्ने डिपिआरमा उल्लेख छ । नुवाकोटको जिलिङ, सिमखेत केउरिनी,कुमरी, झ्याङ्लीपोखरी कोल्पुखोला हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजार पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । उक्त मार्गको पहिलो चरणको कालोपत्रेसम्म स्तरोन्नति गर्ने काम स्वच्छन्द,वल्र्डवाइड,अमृत जेभी नामका तीन ठेकेदार कम्पनीले गरिरहेका छन् । अर्थ मन्त्रालयले उक्त मार्गको पहिलो खण्ड निर्माणका लागि रु ५० करोड ८५ लाखको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मङ्सिर २७ गते सहमति दिएको थियो ।

२०७६ बैशाख २८ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments