राजमार्गका अधिकांश होटलमा म्याद नाघेका पेय पदार्थ बेचबिखन

राजमार्गका अधिकांश होटलमा म्याद नाघेका पेय पदार्थ बेचबिखन

anugaman

नौबिसे । पृथ्वी राजमार्गमा सञ्चालित अधिकांश होटल तथा रेस्टुरेन्टहरूमा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने अखाद्य वस्तुहरूको प्रयोग र म्याद नाघेका पेय पदार्थहरू बेचबिखन हुने गरेको पाइएको छ । स्थानीय प्रशाासनको सहयोगमा खाद्य गुणस्तर तथा नापतौल विभागको नुवाकोट स्थित डिभिजन कार्यालयले नौबिसे, खानीखोला, सिक्रेखोलाका एक दर्जन होटल तथा रेस्टुरेन्टहरूमा गरिएको अनुगमनमा यस्तो पाईैएको हो ।

अधिकांश होटल तथा रेस्टुरेन्टहरूका नास्तामा प्रतिबन्धित रंग र म्याद नाघेका पेय पदार्थहरू छ्यापछ्याप्ती भेटिएको छ ।
अनुगमन समितिले सिक्रेखोलास्थित हाइवे प्वाइन्ट रेस्टुरेन्टका सञ्चालक नुवाकोट निवासी दीपवीर पनेरुले साविक मूल्यभन्दा चर्को मूल्यमा बेचेको पाईएको छ ।

यस्ता रेस्टुरेन्टहरूले लेज, कुरकुरेलगायत पेय पदार्थहरू र रेडिमेड जंकफुडहरू उल्लेखित मूल्यमै बेच्नुपर्नेमा ४० देखि ५० प्रतिशत मूल्य वृद्धि गरी बेच्दै आइरहेका छन् । यस्ता पसलहरूमा ४० रुपैयाँ पर्ने आलु चिप्स ६० रुपैयाँ, ३२ रुपैयाँ पर्ने कोक, पेप्सी, फेन्टा ४५ रुपैयाँ, उसिनेको अन्डा २५ रुपैयाँ, एउटा समोसा २५ रुपैयाँ, एक दुना चाउचाउ तथा आलु ६० रुपैयाँमा बेच्दै आएका छन् ।

काठमाडौंबाट बाहिरिने र बाहिर जिल्लाबाट राजधानी आउने रात्री सेवाका बसहरूलाई लक्षित गरी बीसकिलो, नौबिसे, सिक्रेखोला, खानीखोला, धार्के, मलेखु, शीतलबजार, सलाङघाटमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूले यात्रुहरूसँग चर्को मूल्य असुल्ने गरेको, गुणस्तरहीन खाना तथा नास्ता दिने गरेको आरोप लाग्दै आएको छ ।

सार्वजनिक सवारीसाधनका यात्रुहरूले खाना र नास्ता खाने पृथ्वीराजमार्ग स्थित होटलमा मूल्य एकरूपता गर्ने स्थानीय प्रशासनको प्रयास बिफल भएको छ । राजमार्गका खाना र नास्ता दिने निश्चित होटलहरूले यात्रुहरू चरम रूपमा निरन्तर ठगी गर्ने गरेको आरोप बारम्बार लागे पनि कारबाही हुन सकेको छैन ।

यसअघि स्थानीय प्रशासनको अगुवाइमा यदाकदा बजार तथा होटलहरूको मूल्य तथा गुणस्तर अनुगमन हुने गरे पनि स्थानीय निकायको निर्वाचनपछि होटल र बजारको अनुगमन हुनै छोडेको छ । स्थानीय निकायको निर्वाचनपछि अनुगमन गर्दै आएको स्थानीय प्रशासनले ‘सबै अनुगमन र आवश्यक कारबाहीको सिफारिस गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएकोले स्थानीय सरकार जिम्मेवार हुनुपर्ने’ अनुगमनमा खटिएका सहायक प्रजिअ धोलकराज ढकालले बताए ।

पृथ्वीराजमार्गमा १६ सयभन्दा बढी साना ठूला होटल रेस्टुरेन्टहरू छन् । पृथ्वीराजमार्गको ८६ किलोमिटर दूरी क्षेत्रको धादिङ खण्ड जोगीमाराको मौवा खोलादेखि नौबिसेको झ्याप्ले खोलासम्म पर्यटकीय स्तरका १ दर्जन, माइक्रो बस रोक्ने २ दर्जन र लामो दूरीका २ दर्जन होटल छन्।

जिल्ला होटल व्यवसायी संघमा भने ६ सय पनि आबद्ध छैनन् । संगठनमा आबद्ध नभएका, नयाँ र पटके व्यवसायीहरूले ग्राहकहरूलाई मनपरी रूपले असुल्ने गरेको बारे स्थानीय प्रशाासनलाई पनि गुनासो गरेको तर कुनै सुनुवाइ नभएको संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । संघले स्थानीय प्रशाासन र जिल्ला उद्योग वाणिज्य संघसँग छलफल गरी निर्धारण गरेको मूल्य सूची र अहिले प्रचलित मूल्यमा धेरै अन्तर छ ।

अनुगमनमा खटिएका खाद्य नियन्त्रक नवराज श्रेष्ठका अनुसार सबै रेस्टुरेन्ट तथा होटलहरूमा पकाउने माछा, पकौडालगायतका खाद्यवस्तुमा अखाद्य रंगको प्रयोग गरिएको पाइएको छ । सार्वजनिक सवारीसाधनका मालिकहरूलाई आफ्नो होटल अगाडि बस रोक्न होटल सञ्चालकहरूले १ देखि डेढ लाखसम्म रकम अग्रिम पेस्की बुझाएका हुन्छन् । बस मालिककै निर्देशनअनुसार चालकहरूले पनि होटल अगाडि बस रोकेबापत मासिक ५ देखि ८ हजारसम्म कमिसन होटलहरूबाट असुल्ने गर्छन् । सवारीसाधनका स्टाफहरूलाई मीठो र रोजेअनुसारको खानपिन व्यवस्था निःशुल्क नै हुन्छ ।

धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले धेरै गुनासो आएका, गैरकानुनी रूपले दर्ता नगरी सञ्चालनमा आएका, सार्वजनिक जग्गा मिचेर सञ्चालनमा आएका, बढी मूल्य लिएर बेच्ने होटल र रेस्टुरेन्टहरूलाई सुधार गर्न हामीले मौखिक र लिखित निर्देशन दिएको बताएका छन् ।

कान्तिपुरकर्मी हरिहर सिँह राठौरको सहयोगमा

२०७५ फागुन ३० गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments