वृत्तचित्रमा लाङटाङ त्रासदी

वृत्तचित्रमा लाङटाङ त्रासदी

langtang2-430x316

काठमाडौं – १२ वैशाखको विनाशकारी भुकम्प र हिमपहिरोपछि मानवबिहिन बनेको लाङटाङ क्षेत्रको स्थलगत अध्ययन गर्न लेखक एवम पत्रकार अशोक सिलवालसहितको एउटा टोली असार २१ गते त्यसतर्फ लाग्यो । भुकम्प र हिमपहिरोपछि पैदलै त्यति ठुलो संख्यामा लाङटाङ गएको त्यो पहिलो मानव समुह थियो ।
भुकम्पपछि विस्थापित भएर काठमान्डुमा बसिरहेका ११ जना लाङटाङबासीसहित टुर गाइड समेत रहेका सिलवाल बम्बुको नियमित बाटो छाडेर खाम्जिङ हुँदै लाङटाङ उकालिए ।
यो साहसिक यात्रालाई वृत्तचित्रमा सुन्दर ढंगले प्रस्तुत गरेका छन् निर्देशक अशोक सिलवालले । मृत्यु, जीवन, आस्था र आशा बोकेर सिलवालकृत वृत्तचित्र अगाडि बढ्दै जान्छ । मान्छे भेटिदैनन् तर जीवित जंगली जनावर र मानव लाश बाटामा भेटिन्छ । यस प्रकारले वृत्तचित्र भयंकर भावनात्मक लयमा बग्दै जान्छ ।
केही घन्टा उकालिएपछि उनीहरु खाम्जीङ पुग्छन् । त्यहाँ भुकम्पले त्यति भत्काएको थिएन । पर्यटकको प्रतीक्षामा रहेको झै देखिन्थ्यो त्यो ठाउँ । भोलिपल्ट शेर्पा गाउँबाट उनीहरु रिम्छेतिर अगाडि बढे । पारी देखिएको पहिरोले पहिलेको बाम्बुको रेगुलर बाटो बगाएको थियो । यता उनीहर जुन बाटो हिंड्दै थिए, त्यो पनि पाइलापाइलामा खतरनाक थियो ।
angtang4शेर्पा गाउँबाट अलि माथि आउँदा बाटोमा पहिरो भटिएकोले उनीहरु भीरभीरै उकालिए । बाटो नै थिएन । भए पनि असाध्यै चुनौतीपूर्ण र कठिन तर पनि स्थानीयसहितको त्यो टोली मृत्युपछि पनि जीवन छ भन्ने उज्यालो बोकेर यात्रा गर्दै थियो । भीर पार गरेर वारी आइपुग्दा जीवन फेरि पाएजस्तो लाग्यो उनीहरुलाई । पटक पटक स्थिति दोहोरिरह्यो ।
उनीहरु लामा होटल पुगे । त्यहाँका सबै होटल र लज क्षतिग्रस्त थिए । लामा होटलबाट उकालिएपछि ठाउँठाउँमा दाउराका बेबारिसे भारीहर भेटिए । अगाडि बढ्दै जाँदा उनीहरुले फेरि एउटा पहिरो भेटे । तर, त्यही बीचमा उनीहरुले भुकम्प र हिमपहिरोपछि स्थानीयका बाटो अलमलिएका चौंरी भेटे । प्लास्टिकमा प्याक गरिएको विदेशीको शव देखे । अगाडि बढ्दै जाँदा संगै गएका स्थानीयले आफ्नो होटलको भग्वनावशेष कोट्याउन थाले । घोडा तबेलास्थित सैनिक इलाका सैनिकबिहिन थियो ।
langtang3पहिरोले लाङटाङ गाउँ मात्र बगाएको थिएन, नदी समेत पुरिएको थियो । जहाँ घरहरु थिए, त्यहाँ बगर मात्र बाँकी थियो । आफ्नो हराएको गाउँ, आफ्नो बगाएको गाउँ । तर, स्थानीयहरु स्मृति खोज्दै थिए । फेरि पनि सम्झना कोट्याउँदै सपना बुन्दै थिए । थोरै थाकेर फेरि उठ्ने कोशिस गर्दै थिए । गाउँको छेउको भग्नावशेषभित्र एउटा पसल सुरक्षित थियो । त्यहाँबाट अनेक खानेकुरा निकालेर उनीहरुले खाए ।
तेस्रो रात उनीहरुले मुन्डुमा बिताए । हिमपहिरोपछि पनि हिमाली फूलहरु मुस्काउन छाडेका थिएनन् । हिमाली खोला र खोल्साहरु उसरी नै बगिरहेका थिए । स्थानीय संस्कृति, आस्था र हिमाल उसरी नै उभिइरहेका थिए ।
langtang5पहाड झुकेको थिएन । हिमाल झुकेको थिएन । आस्था ढलेको थिएन । उनीहरु हिमालको काखमा रहेको झन्डै ४ हजार मिटरको उचाइमा रहेको क्यान्जींग पुगे । त्यो ठाउँमा जहाँ आँखा पथ्र्यो, त्यतै लठ्ठ हुन्थ्यो ।
यही तथ्यलाई बुनेर लेखक एवम पत्रकार अशोक सिलवालले मार्मिक तर आशावादी वृत्तचित्र तयार गरेका छन्, ‘घर फर्किरहेका मान्छे, भुकम्पपछि लाङटाङ पदयात्रा ।’ उनन्तीस मिनेटको सिलवाल निर्देशित यो वृत्तचित्रमा समस्या मात्र होइन, समाधानको उपाय पनि सुझाइएको छ ।
निट नेपालको निर्माण र अध्यक्ष दीपक महत सल्लाहकार रहेको वृतचित्रमा निर्देशक सिलवालले स्थानीय प्रशासन र सुरक्षा निकायको अस्पष्टताबीच पनि चार दिने पैदल यात्रा गरेर नेपालको पर्वतीय पर्यटनको तेस्रो गन्तव्य लाङटाङ क्षेत्रलाई गुन लाएका मात्र छैनन्, स्थानीयको मनोबललाई उठाउने साहसिक प्रयत्न पनि गरेका छन् ।
langtagस्थानीयको गाउँ फर्कने मोह र भंयकर त्रासदीबीच पनि जीवनको उज्यालो चाहनालाई सिलवालले जीवन्त ढंगले प्रस्तुत गरेका छन् । सिलवाल निर्देशित वृतचित्रको कथा ‘ऊँ माने पेमे’को बुद्धिस्ट ध्वनिसँगै अगाडि बढ्दै जान्छ । भुकम्पको त्रासदीबाट सुरु भएर हिमाली क्षेत्रको रमणीयतासँग अगाडि बढ््दै बीचमा पुग्दा आशुँ रित्तिएको वियोगमा पुग्छ ।
अन्तिममा एउटा उज्यालो आइपुगेर वृत्तचित्र टुँगिन्छ ।
समग्रमा मृत्युपछि पनि जीवन बाँकी छ र त्यो अति सुन्दर छ भन्ने बलियो सन्देश दिन सफल भएका छन् निर्देशक सिलवाल । पत्रकारितामा डेढ दशक बिताएका सिलवालले वृत्तचित्र निर्देशनमा सुन्दर र शक्तिशाली सुरुवात गरेका छन् ।
nepalsandesh

Facebook Comments