असोज २६ – मलेसियन एयरलाइन्सको विमान दुर्घटना हुनुको कारणबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । नेदरल्याण्डको सुरक्षा बोर्डले विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
२ सय ९८ जनाको ज्यान जाने गरी सन् २०१४ जुलाई १७ तारिखमा मलेसियन एयरलाइन्सको एमएच १७ विमान युक्रेनको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना बारे अनुसन्धान गरिरहेको नेदरल्याण्डको सुरक्षा बोर्डका अनुसार रुसमा बनेको मिसाइल आक्रमणबाट विमान दुर्घटना भएको हो । तर मिसाइल आक्रमण कसले गरेको भन्ने कुरा खुल्न बाँकी रहेको बोर्डले जनाएको छ ।
विशेषज्ञ तथा पश्चिमा राष्ट्रले युक्रेनमा सरकार विरुद्ध संघर्ष गरिरहेका विद्रोहीको आक्रमणका कारण विमान दुर्घटना भएको आरोप लगाएका थिए । तर रुसले भने युक्रेनकै सरकारी सेनालाई सहयोग गरेका समुहको आक्रमणका कारण विमान दुर्घटना भएको दाबी गर्दै आएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश नेदरल्याण्डका नागरिक थिए । यस्तै मलेसिया, अस्ट्रेलिया, इन्डोनेशिया, बेलायत, जर्मनी, बेल्जियम, फिलिपिन्स, क्यानडा र न्युजिल्याण्डका नागरिकको पनि ज्यान गएको थियो । आफ्ना नागरिक चढेको विमान दुर्घटनाग्रस्त भएपछि नेदरल्याण्डले दुर्घटनाको कारण बारे अनुसन्धान सुरु गरेको थियो ।
नेदरल्याण्डको सुरक्षा बोर्डले अुनसन्धानको प्रारम्भिक प्रतिवेदनमा रुसमा बनेको मिसाइल आक्रमणका कारण विमान दुर्घटना भएको जनाएपनि आक्रमणको आरोप कसैलाई लगाएको छैन । विमान दुर्घटनाको अनुसन्धानको नियम अनुसार कसैलाई आरोप नलगाइएको बोर्डले जनाएको छ ।

Facebook Comments