माथिल्लो त्रिशुली थ्री ए आयोजनाको निर्माण तत्काल थाल्न आग्रह

radiorajmarga

National

रसुवा – बैशाखको भूकम्प पछि निर्माण ठप्प भएको नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री ए आयोजनालाई तत्काल निर्माण थाल्न नुवाकोटका राजनितिक दलहरुले सल्लाह दिएका छन् । भूकम्पको कारण भत्किएको सडक भूकम्प आएको ८ महिना पुग्दासमेत मर्मत हुन नसकेपछि सडककै कारण आयोजनाको निर्माण रोकिएको हो ।
नेपाल विद्युत प्राधिकरणले चीन सरकारको ऋणमा निर्माण गरिरहेको ६० मेगावाट क्षमताको आयोजनाको निर्माणको लागि तत्कालै भत्किएको सडक मर्मत र निर्माणमा ध्यान दिनु पर्ने नुवाकोटका दलका प्रतिनिधीहरुले सुझाव दिएका छन् । माथिल्लो त्रिशूली थ्री ए आयोजनाका प्रमुख फणिन्दराज जोशीले भूकम्पको कारण भत्किएको सडक निर्माण नहुदा नै आयोजना निर्माणकार्य अघि नबढेको बताउनुभयो । आयोजनाको रोड खुलाउनको लागि सडक विभाग वा नेपाली सेना परिचालन गरि तत्काल सडक खुलाउन सकेमा ठेकेदारहरुले पनि निर्माण अघि बढाउने देखिएको समेत आयोजना प्रमुख जोशीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष नारायण खतिवडाले आयोजनाको निर्माण तत्काल सुरु गर्नु पर्ने र प्रसारण लाइन विस्तारको लागि आयोजनाले अर्को विकल्प भएमा त्यसको खोजी गर्नु पर्ने बताउनुभयो ।
राप्रपाका अध्यक्ष झनक प्याकुरेलले भूकम्पको कारण भन्दै सधै भरि आयोजनाको निर्माण रोकेर बस्न नहुने बताउनुभयो । एकिकृत नेकपा माओवादीका अध्यक्ष हिरानाथ खतिवडाले निर्माणको लागि आयोजना अझै सक्रिय हुनु पर्ने र प्रसारण लाइन विस्तारको लागि जनताको जग्गाको मुआब्जामा स्पष्ट पार्दा पनि बढी अपेक्षा राख्छन भने प्रसासनिक कदम चाल्नुको विकल्प नहुने बताउनुभयो ।
नेकपा माओवादी (क्रान्तिकारी)का लिलानाथ न्यौपानेले आयोजनालाई अब कुनै पनि बहानामा रोक्न नहुने बताउनुभयो ।चाइना गेजुवा कम्पनीले निर्माण गरिरहेको आयोजना ढेड बर्ष पहिले नै सकिनु पर्नेमा ६० बाट ९० मेगावाट बनाउने विवादले ढिलो भएको थियो । क्षमता बढाउने विवादको कारण दुई वर्ष म्याद थपिएकोमा भूकम्पले अझै पछि धकेलेको छ ।
चीनको एक्जिम बैैकले १.७५ प्रतिशत सहुलियत व्याज दरमा ८९ मिलिएन अमेरिकी डलर अर्थात् नेपाली साढे १० अर्ब रुपयाँको ऋण सहयोगमा निर्माण भईरहेको आयोजनाले डाडागाउँको मैलुङ नजिकबाट बाध बाधेर ४०९३ मिटरको सुरुङ निर्माण हुदै नुवाकोटको मनकामना अर्चेले नजिक पावर हाउस निर्माण हुदैछ । जुन २०११ मा निर्माण शुरु भई ३५ महिना भित्र आयोजना सक्नुपर्ने सम्झौता भएको भए पनि आयोजना कहिले पुरा हुने अझै निश्चित भएको छैन ।