बढीमा पाँच प्रदेश, नभए सिंगै नेपाल

बढीमा पाँच प्रदेश, नभए सिंगै नेपाल

masauda

सुझावकर्तालाई तीन मिनेट समय दिइएको थियो। तीन मिनेट समय सकिएपछि घन्टी बजाउँदै सभासद महेश आचार्य।    तस्बिर :  खिलानाथ/सेतोपाटी


संविधानको पहिलो मस्यौदामाथि छलफल गर्न आएका सभासदलाई मतदाताले हिन्दु राष्ट्रसँगै संघीय राज्यबारे बढीमा पाँच प्रदेश बनाउन सुझाव दिएका छन्। पाँच प्रदेशभन्दा बढीको संघीयता नटिक्ने भन्दै यदि त्यसो नगरे १४ अञ्चल पचहत्तर जिल्ला नै कायम राख्नुपर्ने सुझाव आएको छ।

केहीले कोसी, गन्डकी र कर्णाली प्रदेश बनाउन पनि माग गरे। मोरङ क्षेत्र नं. ६ को सुझाव संकलनका क्रममा मंगलबार सामान्य अवरोध भयो। सुझाव दिनेको लाइनमा छिरेका नेकपा–माओवादीका कार्यकर्ताले वीरेन्द्र सभागृहमा भइरहेको कार्यक्रम बिथोल्न खोजे।

सात आठ जनाको संख्यामा रहेका उनीहरूले कालो झन्डा देखाएर ‘राष्ट्रघाती संविधान मुर्दाबाद’ भन्दै बिथोल्न खोजेका थिए। उनीहरूलाई प्रहरीले बल प्रयोग गरी गेटबाहिर निकाल्यो।

राप्रपा नेपालका कार्यकर्ताले गेटमा केहीबेर प्रदर्शन गरे। सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र हुनुपर्ने माग राख्दै राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गरे। केहीबेरको नाराबाजीपछि उनीहरूले पुत्ला पनि जलाएका थिए। गेटभित्र छिर्न खोजेका राप्रपा नेपालका कार्यकर्तालाई प्रहरीले बाहिरै रोकेको थियो।

Facebook Comments