पोखरामा यातायात ब्यबसायीको आन्दोलन स्थगित, गाडी चल्न थाले

radiorajmarga

Highway

पोखरा । यातायात ब्यबसायीको आन्दोलन स्थगित भएपछि गण्डकी अञ्चलमा सार्वजनिक सवारी चल्न थालेका छन् । शनिवार विहानैदेखि ठप्प रहेको सार्वजनिक यातायात दिउसो एक बजेदेखि चल्न थालेका हुने ।

यातायात ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको आग्रहपछि माघ २७ गते सम्मको लागि आन्दोलन स्थगित गरिएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सहसंयोजक योगेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।

पोखरामा नयाँ बस ब्यबसायी समितिले रुट ईजाजत पाएपछि पुराना ब्यवसायी आन्दोलित हुदा शनिवार विहान पोखरा नगर क्षेत्रमा सञ्चालन हुने र पोखरा हुदै बाहिरिने कुनैपनि सवारी चलेका थिएनन् । तत्कालको लागि नयाँ विन्धवासिनी यातायात बस ब्यबसायी समिति अन्तर्गतका बस सञ्चालन नगर्ने र यातायात ब्यबस्थापन समितिको बैंठक बसेर निर्णय गर्ने सहमति भएको छ ।

पोखरा नगर क्षेत्रभित्र सञ्चालन गर्ने गरी नयाँ समितिका तीन वटा बसले रुट ईजाजत प्राप्त गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो ।

तर पोखरामा थप नयाँ बसको आवश्यकता नरहेको र भएका समितिलेनै यात्रुको आवश्यकता अनुसारको सेवा दिईरहेकाले नयाँ समितिको रुट ईजाजत खारेज हुनुपर्ने पुराना ब्यवसायीले माग गरेका छन् ।