दसैँमा घर जान अग्रिम टिकट नकुर्न व्यवसायीको आग्रह

दसैँमा घर जान अग्रिम टिकट नकुर्न व्यवसायीको आग्रह

local-bus-transport1

असोज १८ – दसैँमा घर जानको लागि अग्रिम टिकट बुकिङ नकुर्न यातायात व्यवसायीले आग्रह गरेका छन् । तराईका केही जिल्लामा लगातार भैरहेको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा अग्रिम टिकट बुकिङ खुल्ने/नखुल्नेबारे अन्यौल बढ्दै गएकाले टिकट नकुर्न व्यवसायीले आग्रह गरेका हुन् ।
इन्धनको आपूर्ति सहज भए र बन्द हड्ताल रोकिए मात्र अग्रिम टिकट बुकिङ खुलाउन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाका अनुसार यसरी टिकट बुकिङ खुलाउँदा एकैपटक भीड बढ्ने भएकाले झन् समस्या पर्न सक्छ ।
उहाँले काम नभएका र परिवारसँगै गाउँ जान बसेकाहरुलाई अहिले नै जान आग्रह गर्नुभयो । पोहोर परारको जस्तो यसवर्ष नयाँ गाडी पनि थप्ने अवस्था नरहेकोले अहिले नै गाउँ जान उपयुक्त हुने सिटौलाको सुझाव छ ।
गएका वर्षहरुमा एक महिना अघि नै टिकट खुलाउने गरिए पनि इन्धन अभाव र बन्दका कारण दसैँनजिकिदा पनि बुकिङ खुलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय नगर्दा गाडी चलाउन अझ समस्या परेको व्यवसायीको गुनासो छ ।

Facebook Comments