होलीमा मापसे गर्ने जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई सार्वजनिक अपराध मुद्दा

होलीमा मापसे गर्ने जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई सार्वजनिक अपराध मुद्दा

flaganimation-2074-09-19

चैत्र ५ । प्रहरीले फागु पूर्णिमा (होली)मा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहोर पानी छ्याप्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने भएको छ । रङहरुको पर्व मानिने होलीमा पछिल्लो समय विकृति बढ्दै गएको निष्कर्ष निकाल्दै प्रहरीले देशभर विशेष सुरक्षा योजना अघि सारेको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘मापसे गरेर सवारी चलाउने, जथाभावी लोला हान्ने र रङ दल्ने तथा उच्छृंखल गतिविधि गर्नेजस्ता अवाञ्छित घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा लैजान्छौं । होली सद्भावको पर्व हो । यसलाई खुशीसाथ मनाऔं ।’’ प्रवक्ता शर्माले शान्तपूर्वक रुपमा होली सम्पन्न गर्न देशभर विशेष सुरक्षा योजनासँगै ठाउँ–ठाउँमा पिकेट राख्ने, मोबाइल टोली परिचालन गर्ने लगायतका कार्य हुने बताए ।
होलीमा मापसेका कारण, छतमा होली खेल्दा अनियन्त्रित भएर लड्दा, विभिन्न रसायनयुक्त रङका कारण ज्यानै जोखिममा पर्ने गरेको प्रहरी तथ्याङ्कले देखाउँछ । प्रहरीले बालबालिका लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध समेत गरेको छ । यस वर्ष चैत ६ गते बुधबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा र ७ गते बिहीबार तराईका जिल्लामा फागु पूर्णिमा मनाइँदैछ ।

चैत्र ५, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments