मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

munglin-pul

बैशाख ३ । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ ।
नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धा्रित समयमा पुल निर्माण सम्पन्न हुननसकेको शर्माको भनाइ छ । मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।
चीनमा पढेर आएका नेपाली इञ्जिनियरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । एक सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको हुनेछ ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments