माथिल्लो त्रिशूली थ्री ए को ३० मेगावाट विद्युत १७ वैशाखभित्र

माथिल्लो त्रिशूली थ्री ए को ३० मेगावाट विद्युत १७ वैशाखभित्र

Trisuli-3-A

चैत्र ६ । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाख (३० अप्रिल २०१९) भित्र आउने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुको बैठकले पहिलो युनिटबाट १७ वैशाख भित्रमा विद्युत् उत्पादन सुरु गर्ने निर्णय गरेको हो ।
पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असार (३० जुन २०१९)बाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरुले प्रतिबद्धता जनाएका छन् । विभिन्न समस्या झैल्दै आएको आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको निरन्तरको प्रयासबाट सम्पन्न हुने अवस्थामा पुगेको छ ।
६० मेगावाटको आयोजनामा ३०र३० मेगावाटका दुईवटा युनिटहरु रहेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभएको थियो ।

चैत्र ६, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments