माथिल्लो त्रिशुली थ्री ‘ए’ र कुलेखानी तेस्रो निर्माण अन्तिम चरणमा

माथिल्लो त्रिशुली थ्री ‘ए’ र कुलेखानी तेस्रो निर्माण अन्तिम चरणमा

trishuli

बैशाख ६ । लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो । कुलेखानी तेस्रोको कूल चार दशमलव दुई किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिसकिएको छ । यस्तै माथिल्लो त्रिशूली थ्रि एको करीब ५ किलोमिटर लामो मुख्य सुरुङमा आजदेखि बुधबारबाट पानी पठाएर परीक्षण शुरु गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले समयमा काम नगरी लापरवाही गरेको र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ हुँदै आएको थियो । विद्युत गृह, सुरुङलगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सो आयोजनामा एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको काम प्रभावित भएको थियो ।

मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गरिएको छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको सहायक आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको शुरुको लागत रु २ अर्ब ३३ करोड थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत दोब्बरले बढेर रु ४ अर्ब ६३ करोड पुगेको छ ।

यस्तै रसुवा र नुवाकोटको सीमामा निर्माण भइरहेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको ३० मेगावाट विद्युत् यही १७ वैशाख भित्रै उत्पादन गर्ने तयारी गरिएको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उनका अनुसार मुख्य सुरुङमा पानी परीक्षण शुरु भएको छ ।
बैशाख ६, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments