बूढीगण्डकी जलविद्युत् आयोजनाको लागी पेट्रोलियम पदार्थको करबाटै कुल लागतको १० प्रतिशत रकम उठ्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाको लागी पेट्रोलियम पदार्थको करबाटै कुल लागतको १० प्रतिशत रकम उठ्यो

budi-gandaki

काठमाडौं, माघ २३ । बहुप्रतिक्षित बूढिगण्डकी जलविद्युत् आयोजना निर्माणमा लाग्ने अनुमानित कुल रकमको १० प्रतिशत रकम पेट्रोलियम पदार्थमा लगाइएको करबाटै संकलन भएको छ । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि २०६९ सालमा २ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । यद्यपि लागत बढेर ३ खर्ब नाघ्न सक्ने आंकलन पनि छ ।

नेपाल आयल निगमले इन्धन आयात तथा बिक्रीबापत बूढिगण्डकीका नाममा संकलन गर्दै आएको रकम अनुमानित लागतको करीब १० प्रतिशत पुगिसकेको छ । निगमका अनुसार बूढीगण्डकीका नाममा संकलन गरिँदै आएको रकम हालसम्म करीब २८ अर्ब रुपैयाँ पुगेको छ । बूढीगण्डकी शीर्षकमै संकलन भएको रकम २२ अर्ब रुपैयाँ र शीर्षक परिर्वतनपछिको समेत गरेर करीब २८ अर्ब रुपैयाँ संकलन भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । यो रकम अनुमानित कुल लागतको १० दशमलव ७७ प्रतिशत हो ।

यसअघि बूढिगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सोही शीर्षकमा इन्धन आयात तथा बिक्री बापत रकम संकलन गरिँदै आएको थियो । पछिल्लो समय सोही शीर्षकलाई ‘पूर्वाधार कर’ बनाएर रकम संकलन गरिँदै आएको छ ।

यस्तै ऊर्जा मन्त्रालयले बूढीगडण्की जलविद्युत् आयोजना निर्माणका लागि अध्ययन भइरहेको जानकारी दिएको छ । मन्त्रालयका बूढीगण्डकी जलविद्युत् आयोजना इकाई प्रमुख कृष्णबहादुर कार्कीले बूढीगण्डकी जल विद्युत् आयोजनाले प्रभावित हुन सक्ने स्थानीय घर, गोठ, फलफूल लगायतका वस्तुको अध्ययन भइरहेको जानकारी दिए ।
माघ २३, २०७५ मा प्रकाशित

Facebook Comments