प्रदेश ३ समूह विजेता बन्दै सेमिफाइनलमा

प्रदेश ३ समूह विजेता बन्दै सेमिफाइनलमा

PM-Cup-1

काठमाडौं, जेठ २१ । प्रदेश नम्वर ३ तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोेगिताको समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सोमबार सोमबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको हो । समुह ‘ए’ मा एपीएफ र प्रदेश ३ ले ४ खेलमा समान ३ मा जित र १ मा हारका साथ ६–६ अंक जोडेपनि प्रदेश ३ ले नेट रन रेटमा एपीएफलाई पछि पार्दै समुह विजेता बनेको हो ।

यससँगै पीएम कपको सेमिफाईनल समिकरण पनि पुरा भएको छ । सेमिफाइनलमा प्रदेश ३ ले समुह ‘बी’ को उपविजेता त्रिभुवन आर्मीसँग खेल्ने छ । समुह ‘ए’ को उप विजेता एपीएफले समुह ‘बी’ को विजेता पुलिससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । १ सय ५५ रनको लक्ष्य प्रदेश ३ ले ३३ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । प्रदेश ३ को सहज जितमा इशान पान्डेले ५३ रनको अर्धशतकीय योगदान दिए ।

ओपनर रित गौतमलाई ११ रनमा तथा अर्का ओपनर रबिन जोशी पनि १३ रनम आउट भए । कप्तान पारस खड्का २६ रनमा पेभेलिएन फर्किए । आदिल खान ३३ रनमा अविजित रहे । जितेन्द्रसिंह ठकुरी १२ रनमा नटआउट रहे । त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूपश्चिम ४५ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनायो ।

ओपनर खड्क बहादुर बोहोराले सर्वाधिक ४० रनको योगदान दिए । बसन्त कार्की ४ रनम पेभेलिएन फर्के । कप्तान शेर मल्लले १४ रन जोडे । रोशन अधिकारीले २७ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नरेश बोहोरा २६ रन तथा आकश चन्दले ८ रन बटुले । सुर्य तामाङले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । प्रतिस जिसी र जितेन्द्रसिंह ठकुरीले समान २–२ तथा नन्दन यादव र पारस खड्काले समान १–१ विकेट लिए ।

यता, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । सौरभ खनालले उत्कृष्ट ब्याटिङ गरेपछि प्रदेश ५ ले १ बल अघि जित निकालेको हो । २ सय ३५ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले १ बलअघि ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । सौरभ खनालले ९० रनको महत्वपूर्ण योगदान दिए । सौरभले प्रनित थापा मगरसँग चौथो विकेटका लागि उत्कृष्ट ९२ रनको साझेदारी गर्दै प्रदेश ५ को जित सहज बनाएका थिए ।

प्रनितले ४५ रन जोडे । सन्दीप सुनार १७ र सुवेन्द्र पाण्डेलाई ११ रनमा गुमाएको थियो । निश्चिल चौधरी ३३ रनमा आउट भए । कप्तान कृष्ण कार्कीले १३ रन जोडे । गण्डकीका लागि किशोर महतोले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनायो । उसका लागि ओपनर अनिल गुरुङले सानदार शतक प्रहार गरेका थिए । अनिल गुरुङले १ सय ४१ बलमा पीएम कपमा आफ्नो पहिलो शतक पुरा गरे । १ सय ५२ बलमा ५ चौका र १ छक्का सहित १ सय १५ रन बनाए । किशोर महतोले २० रन जोडे ।

गोविन्द प्रधान २६ रनमा पेभेलियन फर्किए । दिपेश श्रेष्ठ २८, सुमन घिमिरे १३ र मेख शेन २३ रन जोडे । अनिल खरेलले ५ विकेट लिए । विक्रम भुषाल र कृष्ण कार्कीको समान २–२ तथा सिद्धान्त शाहीले १ विकेट लिए ।
जेठ २१, २०७६ प्रकाशित

Facebook Comments