प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने

प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने

pardesh-3

हेटौंडा । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने बताउनुभएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रको ५५औँ वार्षिकोत्सव समारोहमा उहाँले लगानीकर्तालाई आकर्षण गर्न प्रदेश सरकारले चालू आवलाई ‘उद्योग वर्ष’का रुपमा मनाइरहेको बताउनुभयो ।

उहाँले बुधबारको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५’ लाई प्रदेशसभामा पेश गर्न अनुमति दिएको जानकारी दिनुभयो । मन्त्री नेपालले उद्योगीलाई स्थानीय कच्चा पदार्थ र स्थानीय जनशक्तिलाई उपयोग गर्नसमेत आग्रह गर्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लेले सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले प्रदेश सरकारले प्रादेशिक औद्योगिक ऐन बनाउनु स्वागतयोग्य भएको धारणा राख्नुभयो । उहाँले मुलुककै ठूलो औद्योगिक क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकारको सहयोगको खाँचो औँल्याउनुभयो । हेटौँडा औद्योगिक क्षेत्रमा तीन हजार ११९ रोपनी क्षेत्रमा फैलिएको औद्योगिक क्षेत्रमा हाल १०१ उद्योग सञ्चालनमा छन् । रासस

२०७५ मंसिर२१ गते प्रकाशित

Facebook Comments