डिपीएल विजेताले ३० लाख पाउने

डिपीएल विजेताले ३० लाख पाउने

DPL_9CEUoZ66EV

काठमाडौं, माघ २३ ।सर्वा्धिक धनराशीको धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करण माघ २६ देखि सुरु हुँदै छ । प्रतियोगिताका लागि तयारी सजावट बाहेक सबै काम पुरा भएको छ। प्रतियोगिताको पुरस्कार यस संस्करणमा २० प्रतिशतले बढाएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ट्रफीसहित ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुनेले दुई लाख पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्ड स्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ। हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको हो ।
प्रतियोगिताको दोश्रो संस्करणको विजेताले उपाधिसहित नगद २५ लाख रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेताले १० लाख प्राप्त गरेको थियो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पुरस्कार रकममा मात्रै ६० लाख खर्च हुने समेत आयोजकले जनाएको छ । फागुन ११ गतेसम्म हुने प्रतियोगिता यस पटक धनगढी–३ बोराडाँडीमा रहेको फाप्ला क्रिकेट मैदानमा हुने छ ।

माघ २३, २०७५ मा प्रकाशित

Facebook Comments