जनताको जलविद्युत्मा माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोड रुपैयाँको आवेदन

जनताको जलविद्युत्मा माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोड रुपैयाँको आवेदन

trishulii

काठमाण्डौ, चैत्र १२ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री सुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा ६६ करोड ३३ लाख ६३ हजार २०० रुपैयाँ बराबरको आवेदन गरिएको छ ।

कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क सोमबार साँझ ५ बजेसम्मको हो । बैंक तथा वित्तीय संस्थाले केही शेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । कूल एक लाख ५५ हजार ४७४ आवेदकले छ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् ।

कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको शेयर सङ्ख्याका आधारमा भने करिब १८ गुणा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको रु १०० अङ्कित दरका ३७ लाख पाँच हजार साधारण शेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री सुरु भएको हो ।

आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । १०० रुपैयाँ अङ्कित मूल्यमा अहिले त्यसको १० प्रतिशत हुन आउने १० रुपैयाँ मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।

कार्यक्रमको पहिलो सहभागीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको थियो । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण रहेको छ ।

चैत्र १२, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments