छुट भूकम्पपीडितको जाँच अवधि थप

छुट भूकम्पपीडितको जाँच अवधि थप

bhukampa

बैशाख २७ । लाभग्राहीको सूचीमा पर्नबाट छुटेका भूकम्पपीडितका लागि अन्तिम पटक गरिएको छुट तथा पुनः जाँच सर्वेक्षणको समयावधि थपिएको छ ।वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत संकलनको समयावधि जेठ मसान्तसम्म पु¥याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले विशेष कारणवश सबै जिल्लामा स्थलगत लगत संकलन समयमै सुरु गर्न नसकिएकाले म्याद थपिएको जानकारी दिए । प्राविधिक तथा इन्जिनियरहरुको आन्दोलनका कारण पुनः जाँच कार्यक्रमसमेत प्रभावित बन्न पुगेको थियो ।

प्राधिकरणले तोकेको अवधिभित्र आ–आफ्नो क्षेत्रमा खटिएका प्राविधिकमार्फत् वडामा पुगेर आफ्नो लगत संकलन गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ ।प्राधिकरणले हाल सबै जिल्लामा सर्वेक्षण भइरहेको जानकारी दिँदै केन्द्रीय सूचना प्रणालीमा ७ हजार गुनासोकर्ताको विवरण प्राप्त भएको जनाएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएकामध्ये तोकिएका करिब ५ सय ५० इन्जिनियरले गुनासोकर्ताको घरघर गई लगत संकलन गरिरहेका छन् ।

प्राधिकरणले वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न भूकम्पप्रभावित स्थानीय तहका पदाधिकारीलाई अनुरोध गरेको छ ।
प्राधिकरणले गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तामाथि कारबाही हुने समेत जनाएको छ ।

निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाऊँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ता, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताको हकमा मात्र सर्वेक्षण हुने प्राधिकरणले जनाएको छ ।त्यसैगरी, छुट तथा पुनः जाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोको पनि सर्वेक्षण गरिने प्राधिकरणले जनाएको छ ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments