खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ

खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ

tatopani naka

जेठ १२ । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्नसमेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ ।

सम्भवतः यही जेठ १७ गते २०७२ साल वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ । विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन् ।

होटल, गेस्ट हाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । थप केही स्थानमा सडक पुनःनिर्माणको काम भइरहेको छ । नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुशी भएका छन् । उनीहरुको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ । वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएकाहरु फर्किएर आएका छन् ।

नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् ।
जेठ १२, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments