एसियन कप छनोटको अन्तिम खेलमा नेपाल यमनसँग २-१ गोलअन्तरले पराजित भएको छ। कतारको दोहामा मंगलबार राति सम्पन्न खेलमा नेपालमाथि जित हात पारेसँगै समूह एफबाट यमन एसियन कपमा छनोट हुन सफल भएको छ । एसियन कपको होडबाट बाहिरिसकेको नेपालले भने प्रतिष्ठाका लागि मात्रै यमनसँग खेलेको थियो ।
पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा नेपालले खेल गुमाउन पुग्यो । अब्दुलावासे अल मातारीले खेलको २४अौं मिनेटमा गोल गर्दै यमनलार्इ सुरुवाती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा नवयुग श्रेष्ठले नेपालका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको ८३अौं मिनेटमा नेपाली कप्तान विराज महर्जनले फाउल गरेपछि पाएको पेनाल्टीमा यमनले निर्णायक गोल गरेको थियो। यमनका अब्दुल वासियाले पेनाल्टीलार्इ गोलमा परिणत गरेका थिए।
२०७४ चैत्र १४ गते प्रकाशित