एक हप्ता भित्र लाइनमा नराखी इन्धन वितरण गर्ने निगमको तयारी

एक हप्ता भित्र लाइनमा नराखी इन्धन वितरण गर्ने निगमको तयारी

Nepal_Oil_corporation_final_766387566_163115679

फागुन ३। नेपाल आयल निगमले उपभोक्तालाई लाइनमा नराखीकनै माग अनुसार इन्धन वितरण गर्ने तयारी भइरहेको दाबी गरेको छ । अब बिस्तारै आयात बढ्न थालेकाले यही हप्ताभित्र पेट्रोल र डिजेलको वितरण सहज हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले दाबी गर्नुभयो ।
तोकिएको पम्पबाट समेत इन्धन भर्न नपाएको उपभोक्ताले गुनासो गरिरहँदा निगमले अवस्था सहज बनाउने प्रयास भइरहेको बताएको हो । निगमका अनुसार सोमबार काठमाडौंमा ६ सय किलो लिटर पेट्रोल र यही परिमाणमा डिजेल पठाउने तयारी भइरहेको छ ।
विभिन्न नाका भएर भने दैनिक ३ सय किलोलिटर तेल मात्रै काठमाडौं भित्रिएको छ । निगमसँग स्टकमा रहेको १५ लाख लिटर पेट्रोलबाटै अहिले वितरण थालिएको हो । निगमका अनुसार आइतबार रक्सौल नाकाबाट ११ सय किलोलिटर तेल लोड भएको र यो काठमाडौं आउने क्रममा छ ।
शनिबार भारतीय आयल कर्पोरेशनले लोड नगरिदिदा माग अनुसारको बजारमा पठाउन नसकेको निगमले जनाएको छ । तेलको सहज वितरणका लागि रक्सौलबाट दैनिक २४/२५ सय किलोलिटर तेल आवश्यक पर्छ ।
यही हप्तामा पेट्रोल डिजेलको वितरण सहज हुने भए पनि ग्यासको वितरण सहज गर्न भने एक महिना लाग्ने निगमले जनाएको छ ।
माग धेरै भएको तर त्यही अनुपातमा लोड र आयात नभएकाले ग्यासको तत्काल वितरण सहज नहुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो । दैनिक ५०/५५ बुलेट ग्यास आयत हुनुपर्नेमा अहिले दैनिक ४० बुलेको हराहारीमा मात्रै भित्रने गरेको छ ।
source : ujyaloonline.com

Facebook Comments