उपत्यकाको फोहर विसर्जनमा सिसडोल बासीको अवरोध

उपत्यकाको फोहर विसर्जनमा सिसडोल बासीको अवरोध

qkMg4HgJi8MOfZVqQVNF

नुवाकोट, चैत्र २० । टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध र्पुयाएका छन् । काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । उक्त घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीले र्पुयाएको अवरोध आज पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करीब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् ।

फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिए । उनका अनुसार दुर्घटनापश्चात काठमाडौं महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।

घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध र्पुयाएका स्थानीयवासीले अन्य सवारीसाधन भने सञ्चालनमा रोक नलगाएकोे जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । विरोधमा उत्रिएका पीडितपक्षले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का बालक राजनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
चैत्र २०, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments