आर्थिक सहायता र भ्रमण भत्ता, एक महिनामै डेढ करोड बाँडियो

आर्थिक सहायता र भ्रमण भत्ता, एक महिनामै डेढ करोड बाँडियो

prime-minister

काठमाडौं, फाल्गुण १५ । सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी बाँडेको पाइएको छ । सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णयअनुसार सो रकम वितरण गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार माघ महिनामा मात्रै १ करोड ५४ लाख २१ हजार २५७ रुपैयाँ निकासा भएको छ । जसमा आर्थिक सहायता शीर्षकमा ७९ लाख ९५ हजार १७७ र पदाधिकारी भ्रमणमा ७४ लाख २६ हजार ८० रुपैयाँ खर्च भएको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई भारतमा उपचार गर्नका लागि २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै, अर्थ मन्त्रालय मातहत विभिन्न मितिमा विदेशका कार्यक्रममा सहभागी भएकाहरुका लागि ३७ लाख ५ हजार ९३१ रुपैयाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका लागि २६ लाख ४१ हजार ८२८ रुपैयाँ निकासा भएको छ । यस्तै, दुबईमा आयोजना भएको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित तीन सदस्यीय टोलीका लागि ५ लाख ५६ हजार २८० रुपैयाँ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा भारतमा अन्तर्राष्ट्रिय अवार्ड ग्रहणमा जाँदा भएको खर्च शीर्षकमा १ लाख ८९ हजार ६८० रुपैयाँ अर्थ मन्त्रालयमार्फत निकासा भएको छ ।
यस्तै, भारतको मुम्बईमा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका लागि २ लाख ४२ हजार ३६१ रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै, आर्थिक सहायतातर्फ सर्लाही रामनगर गाउँपालिका–४ का मृतक रामविलास महतोको परिवारका लागि १० लाख, धनकुटाका जनार्दन आचार्य, नेपालगन्जका विन्दु कुँवर र मोहनकुमार श्रेष्ठ, दूधकोसी गाउँपालिकाका अनुप्रशान्त राई, र यम्घा–३ का केशरी न्यौपानेलाई ५–५ लाखका दरले २५ लाख रुपैयाँ वितरण गरिएको छ । यसैगरी, गुल्मीका थानेश्वर ज्ञवालीलाई ५ लाख, काठमाडौंका मदनमणि दीक्षितलाई ७ लाख रुपैयाँ, काठमाडौंकै बसन्तकुमार शर्मालाई ५ लाख, सिरहाका सत्यम शर्मा पौडेललाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै, अर्थ मन्त्रालयका अनुसार उदयपुरका खड्कबहादुर आलेलाई ५ लाख, रिडी इलाका हुलाक कार्यालयका थानेश्वर ज्ञवालीलाई ५ लाख रुपैयाँ निकासा गरिएको छ ।

शहीद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत विष्णा जोशीको उपचार खर्चका लागि १० लाख रुपैयाँ निकासा भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

रकमान्तरका नाममा अर्बौं

सरकारको निर्णयअनुसार विभिन्न शीर्षकमा रकमान्तर भन्दै अर्बौं रुपैयाँ निकासा गरिएको छ । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई प्रोत्साहन भत्ताका नाममा ५ करोड रुपैयाँ निकासा गरिएको छ भने भरतपुर महानगरपालिकालाई सहकारी भवन निर्माणका नाममा ३ करोड ९० लाख रुपैयाँ मनलाग्दी किसिमले निकासा गरिएको छ ।

प्रहरीको कारकेड मोटरसाइकलका लागि १४ करोड

माघ महिनामा प्रहरीको कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९७ लाख ९९ हजार ९९९ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । प्रहरी ३० वटा कारकेड मोटरसाइकल खरिदका लागि त्यति धेरै रकम निकासा भएको हो । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भैपरी आउने साधारण प्रशासन शीर्षकमा ७७ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
संघीय संसद् सचिवालयमा ४४ थान कम्प्युटर र २२ थान प्रिन्टर खरिदका लागि ३९ लाख ६० हजार रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

स्थानीय सडक पुल निर्माणको नाममा अर्बौं

यसैगरी, माघ महिनामा मात्रै स्थानीय सडक पुल निर्माणलगायतका शीर्षकमा अर्बौं रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । जसअनुसार पुष्पलाल राजमार्ग९मध्यपहाडी लोकमार्ग ० शीर्षकमा २ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । त्यस्तै, गल्छी–त्रिशूली–मैलुङ–स्याप्रुबेंसी–रसुवागढी सडक आयोजनामा ५० करोड रुपैयाँ रकमान्तर गरिएको छ । यस्तै हुलाकी राजमार्ग पुलहरु समेत का लागि ५० करोड, काठमाडौं उपत्यका सडक विस्तार आयोजना शीर्षकमा ३ करोड रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी टाट पल्टिएको गोरखकाली रबर उद्योगलाई ऋणस्वरूप ३० करोड रुपैयाँ आन्तरिक रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
राजधानी दैनिकबाट

फाल्गुण १५, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments