अतिक्रमणको चपेटामा स्वर्गद्वारीको जग्गा

अतिक्रमणको चपेटामा स्वर्गद्वारीको जग्गा

Sorgadwari-7

माघ २८ । प्यूठानको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी आश्रमको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको छ । दाङका विभिन्न स्थानमा स्वर्गद्वारी आश्रमको नाममा रहेको सयौं बिगाहा जमीन अतिक्रमण भएको छ । दाङका लमही, घोराही, तुल्सीपुर लगायत ठाउँको हजारौं बिगाहा जग्गामध्ये ५ सय ५० बिगाहा अतिक्रमण भएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए । ‘दाङका अर्नवा र रामपुरमा रहेको जमीनमा अवैध ढंगले भौतिक संरचना बनिहरेका छन्,’ उनले भने ।

आश्रमको नाममा रहेको सबै जग्गाको मालपोत कर नेपाल सरकारलाई तिरिँदै आएको अधिकारीले बताए । प्यूठान र दाङमा गरी आश्रमको नाममा १ हजार ५० बिगाहा जग्गा छ । यसमध्ये दाङको करीब ५ सय बिगाहा जग्गामा मोही लागे पनि आश्रमले आयस्ता नपाएको गुनासो उनले गरे ।

आश्रमका कर्मचारी १ सय ७० र विद्यार्थी १ सयजना छन् । आश्रमले विद्यार्थीलाई निःशुल्क अध्ययन तथा आवासीय सुविधा दिएको छ । कर्मचारी, विद्यार्थी र गाईका लागि वार्षिक करोडौं खर्च हुने गरेको आश्रमका प्रमुख अधिकारीले बताए । दिगो आर्थिक स्रोत नहुँदा आश्रम भेटीको भरमा सञ्चालन भइरहेको छ ।

स्वर्गद्वारी आश्रमको परिसर र आसपासका वनजंगल सहित करीब २८ हजार रोपनी जमीन स्वर्गद्वारी आश्रमको नाममा छ । करीब ९ हजार रोपनी जग्गाको दर्ता तथा स्रेस्ता कायमै रहेको छ भने बाँकी वनजंगल पनि आश्रमकै नाममा नापीको फिल्ड बुकमा कायम छ । २०६२ सालमा सर्वोच्च अदालतले विशिष्ट प्रकृतिको निजी गुठी भनी स्वर्गद्वारी आश्रमको जग्गा खण्डीकरण गर्न नपाउने फैसला गरे तापनि उक्त फैसाला आदेश कार्यान्वयनमा सरोकारवाला पक्ष उदासीन देखिएको आश्रमले बताएको छ ।
आर्थिक अभियानबाट

माघ २७,२०७५ प्रकाशित

Facebook Comments